धनतेरसकाे दिन के के किन्दा शुभ हुन्छ ?
काठमाडौँ । आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान चाडको रूपमा रहेको तिहार आजबाट सुरु भयो । विशेष गरी आजको दिनलाई हिन्दु धर्ममा विशेष दिनका रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ ।
धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको मान्यता छ ।
भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानीन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ ।
धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।
भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ ।
धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ ।
साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।
धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ ।
सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ–तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ ।
आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ ।